Skip to main content

कोरोना संक्रमितको संख्या ४ लाख ७१ हजार नाघ्यो, दुई हप्तामा चार गुना बढे

पछिल्लो दुई सातामा विश्वभर कोरोना भाइरस संक्रमितको संख्या चार गुनाले बढेको छ। कोरोना भाइरसको पछिल्लो विश्व विवरण अनुसार हालसम्म ४ लाख  ७१ हजार ३४ जनामा यसको संक्रमण पुष्टि भएको छ जबकी दुई साता अगाडि मार्च १० मा यो संख्या १ लाख १८ हजार ९ सय ४८ थियो। त्यसयता संक्रमितको संख्या झण्डै ३ लाख ५२ हजार ८६ ले बढेको छ। पछिल्लो समय भने कोरोना भाइरसको ‍ इपिसेन्टर अमेरिका भएको छ। त्यहाँ हालसम्म यसको संक्रमणबाट एक हजार ३२ जनाको मृत्यु भइसकेको छ भने ६८ हजार बढी संक्रमित भइसकेका छन्। पछिल्ला दिनमा देखिएको संक्रमणदरले यही गतिमा बढेमा अमेरिका विश्वको सबैभन्दा बढी संक्रमितको देश बन्ने विश्लेषकहरूले अनुमान गरेका छन्। अहिले अमेरिका भन्दा बढी संक्रमित चीन र इटालीमा मात्र छन्। चीनमा ८१ हजार बढी संक्रमित छन् भने इटालीमा ७४ हजार बढी संक्रमित छन्। पछिल्लो समय चीनमा संक्रमण रोकिएको छ भने इटालीमा भने संक्रमितको संख्या ७४ हजार बढीमा देखिएको छ भने ७ हजार पाँच सय ३ जनाको मृत्यु भइसकेको छ। त्यसैगरी कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउने मुलुकमा  स्पेन दोश्रो नम्बरमा पुगेको छ। त्यहाँ हालसम्म ३६ सय

टुँडिखेलको भुइँचालो थुम्को, थुम्कोमा फुरफुर पुतली


अतिक्रमणले टुँडिखेल बिग्रेको, भत्केको कुरा हामीले धेरै गर्‍यौं। आज अलि फरक कुरा गर्दैछु।
टुँडिखेलको सबै अतिक्रमण नराम्रो छैन। २०७२ को भुइँचालोपछि एउटा यस्तो अतिक्रमण भयो, जुन त्यति बेला हामीलाई नराम्रो लागेको थियो। यस्तो के गरेको होला भनेर दिक्क मान्दै नाक खुम्च्याएका पनि थियौं। आज त्यही अतिक्रमणले टुँडिखेलको एउटा भागमा ‘चार चाँद’ थपेको छ। यसलाई सपार्ने, सजाउने हो भने सम्पूर्ण टुँडिखेलको ‘ल्यान्डस्केप’ नै बेग्लै हुन्छ।
म कुरा गर्दैछु, भुइँचालो थुम्कोको।
अब सोध्नुहोला, टुँडिखेलमा भुइँचालो थुम्को कहाँ छ? म भन्छु नि कहाँ छ!
तपाईं भद्रकाली मन्दिरअगाडि उभिएर टुँडिखेलतिर हेर्नुस् त, के देख्नुहुन्छ?
सेनाले खेल मैदान र पार्टी प्यालेस बनाएको भू–भागतिर हेर्ने भनेको होइन नि। अर्कोपट्टि खुला भागतिर, जहाँ टुँडिखेलको एकचौथाइ हिस्सा जोगिएर बसेको छ।
टुँडिखेलको यो दक्षिण–पूर्वी कुनामा, भद्रकाली मन्दिरको एकदमै नजिक एउटा सानो थुम्को देखिन्छ। कतिले यो थुम्को कसरी बन्यो भन्ने पनि बिर्सिसके होलान्! भुइँचालोअघि काठमाडौं नआएकाहरूलाई त यो थुम्को परापूर्वकालदेखि टुँडिखेलकै हिस्सा थियो कि भन्ने लाग्न सक्छ।
यसको कुनै नाउँ छैन, तर उद्गम कथासँग जोडेर नामकरण गर्ने हो भने ‘भुइँचालो थुम्को’ नै बेस होला। स्थानीयकरण गर्दा ‘तिच्वः’ भन्दा हुन्छ। नेवार भाषामा ‘तिंख्यः’ भनेको टुँडिखेल, ‘तिंच्वः’ भनेको टुँडिखेल चुचुरो।
पहिले उद्गमको कुरा गरौं।
२०७२ वैशाखको भुइँचालोले धरहरा ढल्यो, सुन्धारा वरिपरिका केही घरहरू माटोमा मिले। त्यति बेला रातारात सुन्धारा क्षेत्रको भग्नावशेष पन्छाएर टुँडिखेलको यही दक्षिण–पूर्वी कुनामा थुपारियो।
झन्डै पाँच वर्षको झरी–बर्खा, हिउँद–गर्मीले त्यो भग्नावशेष आज स्थायी थुम्कोमा परिणत भएको छ। अचेल यहाँ फोहोर थुप्रिएको आभाष हुँदैन। लगभग पूरै थुम्कोलाई हरियो घाँसले ढाकेको छ। सानातिना बुट्टयानहरू छन्। कीराकिरी र एकाध पुतलीहरूले बासस्थान बनाएका छन्।
मैले यही बाटो ओहोरदोहोर गर्दा पनि यो थुम्को यति सुन्दर भइसक्यो भन्ने ख्याल गरेको थिइनँ। अघिल्लो शनिबार ‘मुक्त टुँडिखेल’ अभियानमा जाँदा ‘स्ट्यान्ड–अप कमेडियन’ लेखमणि त्रितालले मेरा आँखा खोलिदिए।
उनले त्यही थुम्कोतिर इंगित गर्दै भने, ‘पछाडि हेर्‍यो आर्मी, अगाडि पनि आर्मी देखिएला भनेर पहाडले छेकिदिएको छ।’
‘कसले भन्छ नेपालमा विकास छैन,’ उनले थपे, ‘रातारात बाटो पिच हुन्छ, पहाड बन्छ। दुई–चार वर्षमा हेर्नुस्, हिउँ पर्छ त्यो पहाडमा।’
उनले व्यंग्य गरेर भने पनि कुरा साँचो हो। यो थुम्कोले सेनाको ब्यारेक सर्लक्कै छोपिदिएको छ। दुई–चार वर्षमा यहाँ हिउँ पार्न त सकिन्न, तर टुँडिखेललाई खुला सार्वजनिक पार्क बनाउँदा यो थुम्को महत्वपूर्ण हिस्सा बन्नसक्छ।
त्यसै दिन अभियानमा ऐक्यबद्धता जनाउन आएका पत्रकार कनकमणि दीक्षित भन्दै थिए, ‘यो थुम्को हामीले खेर फाल्न हुन्न है, यसलाई भुइँचालोको सम्झनाका रूपमा जस्ताको तस्तै संरक्षण गरेर राख्नुपर्छ।’
उनले यसो भनिरहँदा मेरा आँखा त्यतैतिर गए। केही युवा–युवती माथि चढेर फोटो खिच्दै थिए। म नजिक गएँ। पोथ्रापोथ्रीको घारी राम्ररी नै झांगिसकेछ। मान्छे अक्सर यहाँ आउँदा रहेछन् र थुम्को चढ्दा रहेछन् भन्ने डोबहरूले छर्लंगै पार्थ्यो। साना नानीबाबुहरूका लागि त रमाइलै ‘क्लाइम्बिङ’ होला!
दीक्षितले भनेजस्तै भुइँचालोको यो अवशेष हामीले चाहेर वा नचाहेर पनि अब हामीबीच छ। डोजर चलाएर यसलाई सम्याउन नसकिने होइन। तर, किन सम्याउने? किन यसलाई सहरको सौन्दर्य बढाउने गरी सदुपयोग नगर्ने?
म त्यति बेला छक्क परेँ, जब सारा टुँडिखेलको अतिक्रमण छाडेर काठमाडौं महानगरले बिहीबार यही थुम्कोमाथि डोजर चलायो। बसपार्क हटाउने काम सिंगै बाँकी छ, पसलहरू चलिरहेकै छन्, अतिक्रमण गरी बनाइएका अन्य संरचना पनि जस्ताका तस्तै छन्। यतिका काम थाती राखेर महानगरले भने सिधै यही निरीह थुम्कोमाथि आक्रमण गर्‍यो, जसले हामीलाई भुइँचालो सम्झाउँथ्यो।
अब तपाईंहरू भन्नुहोला, चउरछेउको यो थुम्को हामीले कसरी सदुपयोग गर्ने? म भन्छु नि कसरी गर्ने!
सिंगापुरको चांगी विमानस्थलमा चारैतिर सिसाले बारेको सानो ‘ग्रिनहाउस’ छ। चाँडै विमानस्थल पुग्नुभयो, वा केही समय ‘ट्रान्जिट’ मा बिताउँदै हुनुहुन्छ भने यो ग्रिनहाउस छिर्न नबिर्सनुहोला। यो पुतली बगैंचा हो। यहाँ ४७ जातका पुतली पाइन्छन्। छ मिटर अग्लो चट्टानको कृत्रिम ढिस्कोबाट कृत्रिम झरना झरझर झर्छ। चारैतिर हरियाली छ। मगमगाउँदा फूलहरू छन्। तिनै फूलमा रस चुस्दै उडिरहेको पुतली घरि तपाईंको शिरमा आएर बस्छ, घरि हत्केलामा। आफूजस्तै रंगीबिरंगी पुतलीसँग खेल्न पाउँदा नानीबाबुहरू फुरूंग पर्छन्।
इन्डोनेसियाको बाली, संयुक्त अरब इमिरेट्सको दुबईदेखि संसारका विभिन्न सहरमा यस्ता पुतली बगैंचा छन्, जहाँ केटाकेटीलाई पुतलीको जीवनचक्र सजीव ढंगमा बुझाउन सकिन्छ।
टुँडिखेलको यो भुइँचालो थुम्कोलाई हामी सिंगापुर, बाली वा दुबईको जस्तै ‘पुतली बगैंचा’ का रूपमा विकास गर्न सक्छौं, जसले रंगशालादेखि रानीपोखरीसम्म फैलिने विशाल टुँडिखेल पार्कको ‘ल्यान्डस्केप’ अर्कै बनाइदिन्छ।
मैले पुतली विशेषज्ञ प्राध्यापक डा. भैया खनालसँग यसको सम्भावनाबारे कुराकानी गरेँ।
उनी आइडिया सुनेर खुसी भए, त्यसपछि कसरी कार्यान्वयन गर्न सकिन्छ भनी केलाउन थाले।
अहिलेकै अवस्थामा पुतलीलाई यहाँ बास बनाउन गाह्रो रहेछ। उनी भन्दै थिए, ‘व्यस्त सडकको छेउमै भएकाले सवारी साधनको टाइँटुइँ र धूलोधुवाँको बीचमा पुतली सप्रँदैन।’
पुतलीजस्तै सहरको टाइँटुइँ र धूलोधुवाँले हाम्रा नानीबाबुको हुर्काइमा कति ठूलो प्रभाव पारिरहेको होला! उनीहरू पनि पुतलीजस्तै त हुन्!
जसरी हामी केटाकेटीलाई सहरी कोलाहल र प्रदूषणबाट जोगाएर राख्छौं, त्यसैगरी जोगाउने हो भने पुतली सपार्न नसकिने होइन।
यसको निम्ति सिंगापुरको ग्रिनहाउसजस्तै थुम्कोलाई सिसाले बारेर बाहिरी वातावरणबाट अलग्याउन सकिन्छ। र, भित्र पुतलीहरूले घर बनाउन सक्ने वातावरण बनाउन सकिन्छ।
यो ‘आइडिया’ कार्यान्वयन गर्न प्राध्यापक खनालले केही उपाय सुझाए।
सबभन्दा पहिला त, रत्नपार्क वा भृकुटीमण्डपको कुनै क्षेत्रमा पुतलीको बासस्थानमाथि अनुसन्धान गर्नुपर्छ। रत्नपार्कलाई नमूना मानेर सम्पूर्ण टुँडिखेल क्षेत्रमा कस्ता–कस्ता पुतली हुर्कन सक्छन् भनी पत्ता लगाउन सकिन्छ। अनुसन्धान गर्न अप्रिल मध्यदेखि जुलाई अन्त्यसम्म उपयुक्त हुन्छ। यो पुतली सप्रने याम हो।
उनका अनुसार नेपालमा ६ सय ६० जातका पुतली पाइन्छन्। संसारकै विरल प्रजाति पनि छन्। मान्छेजस्तै पुतलीहरूको स्वभाव र खान्की फरक हुन्छ। कुनै जिन्दगीभरि एउटै फूल वा वनस्पति खाएर बाँच्छ। कुनैले दुई–तीनथरीको वनस्पति पचाउँछ। कुनै हामीसँगै सहरको बीचमा बाँच्छ, कसैलाई बाँच्न घना जंगल नै चाहिन्छ।
पुतलीहरूको जीवन एकदमै छोटो हुन्छ। वर्षको तीन साता मात्र निस्कने पुतली पनि हुँदो रहेछ, तपाईंलाई थाहा थियो?
थरीथरीका पुतलीमध्ये केही प्रजाति सहरी क्षेत्रमा हुर्कन सक्छन्। तिनलाई रत्नपार्कमा अनुसन्धान गरेर यो थुम्कोमा सार्न सकिन्छ। ग्रिनहाउसको सानो ठाउँमा धेरै जातका पुतली हुर्काउन भने गाह्रो हुँदो रहेछ। जीव सानो भए पनि प्रतिस्पर्धा ठूलो हुन्छ रे, खनालले भनेका। बाँच्नलाई संघर्ष गर्ने गुण चाहिँ मान्छे, पुतली सबैमा उस्तै!
‘पूरै टुँडिखेलको कुरा गर्ने हो भने धेरै जातका हुर्कन सक्छन्,’ खनालले भने, ‘यही थुम्कोमा मात्र पाँच–सात प्रजातिसम्म सकिएला।’
कस्ता–कस्ता प्रजाति हुर्कन सक्छन् त यहाँ?
जिन्दगीका ३५ वर्षभन्दा बढी कीराकिरी केलाएर बिताएका उनले केही नाउँ सुझाए — पेल ग्रास ब्लू, कमन मर्मन, इन्डियन टरटोइज शेल, क्याबेज ह्वाइट आदि।
तपाईं चिन्नुहुन्छ यी पुतली?
‘पेल ग्रास ब्लू’ भनेको घाँस माथिमाथि उड्ने सानो पुतली हो। ‘कमन मर्मन’ कालो हुन्छ, जसको जीउमा सेता साना थोप्ला हुन्छन्। ‘क्याबेज ह्वाइट’ भने सेतो हुन्छ, जसको पखेटाको टुप्पोमा काला थोप्लाहरू हुन्छन्। ‘इन्डियन टरटोइज शेल’ भनेको काठमाडौंका धेरै भागमा पाइने पुतली हो।
यी पुतली कस्ता हुन्छन्, तल तस्बिरमा हेर्नुस् है।
घडीको सुईअनुसार: कमन मर्मन, पेल ग्रास ब्लू, इन्डियन टरटोइज शेल र क्याबेज ह्वाइट।
प्राध्यापक खनालले अर्को प्ररेक कुरा पनि सुनाए, ‘हाम्रा केटाकेटीलाई पुतली चिन्नै गाह्रो भइसक्यो। स्कुलको किताबमा पढ्छन्, त्यत्ति हो। टुँडिखेलको यो थुम्को वा यस्तै अर्को ठाउँमा बगैंचा बनाउन सक्यौं भने सजिलैसँग पुतली चिनाउन र जीवनचक्र बुझाउन सकिन्छ।’
‘सहरकै बीचमा पुतली बगैंचा भए कति राम्रो!’ उनी खुसी सुनिए।
यस्ता अनेक उपाय हुन सक्छन्। जसरी यहाँ आउने युवा–युवतीका लागि यो थुम्को आकर्षण बनेको छ, त्यो हेर्दा ‘सेल्फी प्वाइन्ट’ का रूपमा पनि विकास गर्न सकिन्छ।
कल्पना गर्नुस् त, हल्का उकालो बगैंचा, बगैंचामा थरीथरीका रंगीन फूल र तिनै फूललाई पृष्ठभूमिमा पारेर तपाईंको ‘पाउट’ तस्बिर! बनेन त धेरै ‘लाइक्स’ आउने सेल्फी’।
संयोगले टुँडिखेल थुम्को एक्लो छैन। केही सांस्कृतिक स्थल वरिपरि नै छन्। नजिकै गुरूमापाको रूख छ, जहाँ हरेक वर्ष ‘पाँचह्रे’ मेला लाग्छ। यही रूखनिर दुई साताअघि मुक्त टुँडिखेल अभियन्ताहरूले खरीको बोट रोपेका छन्। हामीले पुतली बगैंचा बनाउँदै गर्दा खरीको रूख हलक्कै बढ्ला। गुरूमापाको रूख पनि मौसममा झांगिएर हरियो होला।
गुरूमापा भनेका टुँडिखेलमा बस्ने राक्षस हुन्। तपाईंलाई उनको कथा थाहा छ? म भन्छु नि!
गुरूमापा राक्षसले काठमाडौंका जनतालाई साह्रै दुःख दिएछन्। भुराभुरी टपक्क टिपेर आहारा बनाउँदा रहेछन्। त्रसित जनताले उपाय झिके। गुरूमापालाई टुँडिखेलको खरीबोटमुनि बसोबासको चाँजो मिलाए। वर्षको एकचोटि सिंगो राँगोको मासु र दस पाथी चामलको भात खुवाउन थाले।
रैथाने बूढापाका अझै पनि टुँडिखेललाई ‘राक्षसको चउर’ मान्छन्। त्यो रूखको फेदमा दुइटा इँटा जोडेर राखे गुरूमापा राक्षसले छुट्टयाइदिन्छ भनिन्छ। अहिले पनि काठमाडौंमा गुरूमापाको नाम लिएर केटाकेटी तर्साइन्छ। भात खान आनाकानी गरे ‘गुरूमापा वल (आयो)’ भन्दै डर देखाइन्छ।
अब सोच्नुस् त, यस्तो सांस्कृतिक महत्वको क्षेत्रमा भुइँचालो थुम्को, भुइँचालो थुम्कोमा फुरफुर पुतली!
पुतली... पुतली... 
यता पनि फुरफुर
उता पनि फुरफुर
रूखमा, घाँसमा
अनि मेरो नाकमा ...

Comments

Popular posts from this blog

कसले सार्वजनिक गर्‍यो पशुपतिको शिवलिंगको फोटो?

पशुपतिनाथ मन्दिरभित्रको मुख्य शिवलिंगको फोटो केही दिनअघि सामाजिक सञ्जालको एउटा ग्रुपमा भाइरल भयो। ‘पशुपति सन्त सम्मेलन’ नामको ह्वाट्सएप ग्रुपमा उक्त सार्वजनिक भएपछि विवाद सुरू भएको छ। साधारणतया पशुपतिनाथभित्र तस्बिर खिच्न नपाइने नियम छ। आखिर कसले गर्‍यो त उक्त फोटो सार्वजनिक? पशुपति क्षेत्र विकास कोषमा नियुक्त भएका सदस्य अर्जुनप्रसाद बास्तोलालाई शिवलिंगको फोटो ह्वाट्सएपमा सेयर गरेको आरोप लागेको छ। यो घटनापछि बास्तोलाले पशुपतिनाथकै अनादर गरेको भन्दै सम्बद्ध क्षेत्रका अधिकारीहरू रूष्ट बनेका छन्। ‘साधारणतया पशुपतिनाथभित्र तस्बिर खिच्न नपाइने नियम छ, यो नियम पशुपतिनाथको गरिमाका लागि बनाइएको हो,’ पूर्वसदस्यसचिव डा. गोविन्द टण्डनले भने, ‘अरूलाई खिच्न नदिने ठाउँमा बसेको मान्छे आफैंले यस्तो फोटो सुरक्षित राख्नु नै राम्रो हुन्छ।’ पशुपतिनाथ विश्व सम्पदा सूचीमा सूचीकृत छ। परम्परादेखि नै यहाँ तस्बिर खिच्न मनाही गरिएको छ। ‘लामै समयदेखि नै यहाँ तस्बिर खिच्न मनाही छ। गुहेश्वरीमा पनि निषेध थियो। भूकम्पपछि कसैले रोक्न नसकेर खुला छ,’ टण्डनले भने, ‘खुला गरियो भने भयावह हुन्छ, यसले धार्मि

स्वरोजगार बन्न चाहनुहुन्छ? पालुङटार नगरपालिकाले दिन्छ विनाब्याज १० लाख रूपैयाँ

गोरखाको पालुङटार नगरपालिकाले संघीय सरकारको सिको गर्दै युवा स्वरोजगार कार्यक्रम लागू गरेको छ। केन्द्र सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट पाँच लाख युवालाई रोजगारी दिने यस्तै कार्यक्रम गत वर्ष ल्याएको थियो। त्यसका लागि तीन अर्ब १० करोड रूपैयाँ विनियोजन गरिएको थियो। यस्तै शैक्षिक प्रमाणपत्र धितोमा राखेर सात लाख रूपैयाँसम्म ऋण दिने अर्को कार्यक्रम पनि सरकारले ल्याएको थियो। तर ऋण लिने प्रक्रिया झण्झटिलो भएपछि विद्यार्थीले ऋण लिएका छैनन्। बाबुराम भट्टराई अर्थमन्त्री हुँदा पनि यस्तै कार्यक्रम लागू भएको थियो। पाँच लाख जना युवालाई स्वरोजगार बनाउने भनिएको त्यो कार्यक्रम स्वरोजगार बन्नेलाई भन्दा कार्यकर्तालाई पैसा दिएपछि असफल भयो। संघ सरकारले नाम फेरेर पटकपटक ल्याएका स्वरोजगार कार्यक्रम सफल नभएका बेला गोरखाको पालुङटार नगरपालिकाले फेरि यस्तै कार्यक्रम लागू गरेको छ। नगरभित्र बसोबास गर्नेलाई स्वरोजगार बनाएर कृषि उपजमा आत्मनिर्भर बनाउने नगरपालिकाको योजना छ। त्यसका लागि गत शुक्रबारदेखि विना ब्याज कर्ता वितरण पनि सुरू भइसकेको छ। ‘युवालाई आफ्नै गाउँमा स्वरोजगार बनाएर विदेश पलायन हुन

गौरिकाको पुरस्कार ६५ लाख, मण्डेकाजी, आयशा र सुवासले २२/२२ लाख पाउने

१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा एकभन्दा बढी स्वर्ण जित्नेलाई प्रत्येक स्वर्णका लागि ११ लाख रुपैयाँ पुरस्कार प्रदान गरिने भएको छ।  सागमा पौडीकी गौरिका सिंह, करातेका मण्डेकाजी श्रेष्ठ, तेक्वान्दोकी आयशा शाक्य र गल्फका सुवास तामाङले एक भन्दा बढी स्वर्ण जितेका थिए।  गौरिकाले ४ स्वर्ण जित्दा अरुले २–२ स्वर्ण जितेका थिए। गौरिकाले थप २ रजत र ३ कास्य पनि जितेकी थिइन्। जसअनुसार उनले पाउने कुल पुरस्कार रकम ६५ लाख हुन्छ। ‘एकभन्दा  बढी स्वर्ण जित्ने खेलाडीको हकमा एक स्वर्णको ११ लाख दिने निर्णय भएको छ’, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने, ‘यसरी हिसाब गर्दा  गौरिका सिंहले जम्मा पुरस्कार ६५ लाख पाउने देखिन्छ।’   गौरिका बाहेक अन्य तीन खेलाडीले भने २२ लाख पाउनेछन्। स्वर्ण पदक जिताउने प्रशिक्षकलाई पनि पाँच लाख दिने सरकारले घोषणा गरेको छ।